सधैँ व्यस्त रहने काठमाडौँका सडक दशैँका बेला सुनसान !
काठमाडौँ, असोज २८ । .दसैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौँ सुनसान बनेको छ । दसैँ मनाउने करिब ९ लाखको सङ्ख्यामा मानिसहरू बाहिरिएपछि काठमाडौँ सुनसान बनेको हो ।
काठमाडौँका मुख्य सडकहरु सधैँजसो व्यस्त नै हुन्छन् । गाडी तथा मोटरसाइकलहरुको चाप, धुवाँधुलो र अस्तव्यस्त । कतिपय स्थानमा त दैनिक जाम हुने गर्छ । यद्यपि यो समस्या कोरोना महामारीका दौरान भएको लकडाउनमा थिएन ।
आजभोलि दशैँका मुख्य दिनमा पनि काठमाडौंमा सवारीको चाप उल्लेख्य घटेको छ । बडादशैँको आज महानवमीका दिन काठमाडौँका व्यस्त सडकहरु सुनसानप्रायः देखिएका छन् ।
नेपालीहरुको महान पर्व विजया दशमी ९बडा दसैँ० मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।
सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् ।
काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।
यता स्थलमार्ग हुँदै राजधानी आउजाउ गर्नेको संख्या घटे पनि आज काठमाडौंको आन्तरिक विमानस्थलमा यात्रुको खचाखच भीड देखिएको छ ।सर्वसाधारण भोलि विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न जसरी पनि घर पुग्नुपर्ने बाध्यतामा देखिन्छन् ।
दशैं लागेपछि दैनिक औसत ८ हजारको हाराहारीमा मानिसले हवाई यात्रा गर्दै राजधानी छाडेका छन् ।विमानस्थल कार्यालयका अनुसार विगतलाई हेर्दा भोलि पनि त्यत्तिकै मात्रामा यात्रुको भीड हुनेछ । आजसम्म राजधानी छाड्नेको संख्या बढी हुन्छ भने भोलिदेखि राजधानी भित्रिनेको चाप पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्