बुटवलमा ४ बजेदेखि कर्फ्यु, प्रहरीको गोली लागेका एकको मृत्यु
काठमाडौं, असोज २४ ।। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर गम्भिर घाइते भएका एकको मृत्यु भएको छ ।
औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताए ।
भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो । अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । अवस्था अहिले पनि तनावपूर्ण छ । सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ ।
बुटवलमा ४ बजेदेखि कर्फ्यु
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
आज ९आइतबार० ४ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्