राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री देउवा, शपथबारे छलफल

काठमाडौं,असोज २२ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवा फर्किएका छन् ।

मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेका बेला देउवा राष्ट्रपतिलाई भेट्न शुक्रबार शीतलनिवास पुगेका थिए।देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच नयाँ मन्त्रीलाई शपथ कसरी गराउने भन्ने विषयमा छलफल भएको छ।

शुक्रबार मन्त्रीमण्डल विस्तारको तयारीमा रहेका देउवा शपथको कानुनी अभावपछि छलफलमा पुगेका हुन्। यसअघिको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश निष्क्रिय भएको र हाल नयाँ कानुन निर्माण नभएकाले कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको हो।

राष्ट्रपति कार्यालयका अनुसार शपथ कुन कानुन अनुसार गराउने भन्ने विषयमा छलफल भएको थियो। साथै, परराष्ट्रमन्त्री नारायण खड्काको विवाद सर्वोच्च अदालत पुगेको सम्बन्धमा समेत छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच शपथका विषयमा कुराकानी भएको बताए।

प्रतिक्रिया दिनुहोस्