दिल्लीमा सशस्त्र-एसएसबी बैठक : सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने निर्णय
काठमाडौं, असोज २१ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्यलाई बढाउने सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)बीच सहमति भएको छ ।
भारतको नयाँ दिल्लीमा सशस्त्र र एसएसबीको तीन दिनसम्म बसेको बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति जुटेको हो ।
फिल्डमा खटिने टोलीदेखि माथिल्लो तहसम्मका अधिकारीहरूबिच नियमित समन्व्य राख्ने सहमति भएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए । हरेक तहका कमाण्डरले आफ्ना समकक्षीसँग सीमा अपराध नियन्त्रण, आम मानिसलाई सहजता प्रदान गर्ने सम्बन्धमा नियमित छलफल गर्ने विषय दुवै सुरक्षा बलका प्रमुखहरूले जोड दिएका छन् ।
एसएसबीको आयोजनामा दुई देशका सुरक्षा बलका प्रमुख अधिकारीबीच पाँचौ नेपाली-भारत कोअर्डिनेसन बैठक दिल्लीमा भएको हो । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले बैठकको नेतृत्व गरेका थिए । बैठकको समापनमा दुवै उच्च अधिकारीहरूले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।
सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरुको समाधन आपसी सहकार्यमा निस्तेज पार्ने, आपराधिक गतिवधि र त्यस्ता क्रियाकलापको सूचना समयमै एकले अर्को पक्षलाई प्रदान गर्ने, आम नागरिकलाई सहुलियत प्रदान गर्न बढी मानिसको ओहोरदोहर हुने सीमा क्षेत्रमा दुवै पक्षले हेल्प डेस्कको स्थापना गर्ने, अवैध तरिकाले गरिने मानव ओसार पोसारलाई कडाइका साथ नियन्त्रण गर्ने, भारतमा कार्यरत गैर सरकारी संस्थाहरूसँग पनि समन्वय गर्ने लगायतका विषय सम्झौतामा समेटिएको छ ।
त्यस्तै, खुला सीमाको फाइदा उठाएर तेस्रो मुलुकका नागरिकहरु अवैध तरिकाले एक अर्को मुलुकमा आउजाउ गर्ने भएकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्नहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने विषय समझदारीमा छ ।
बैठकमा भारतीय पक्षले नेपालमा आतंक गतिविधि गर्ने व्यक्तिहरु नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यसमा विशेष सहयोगको अपेक्षा राखेको छ । त्यस्तै, नेपालले पनि विभिन्न तेस्रो मुलुकका व्यक्ति भारत हुँदै नेपाल पसेर शरणार्थी वा अवैध रुपमा बस्ने भएकाले त्यसमा एसएसबी चनाखो भइदिनु आग्रह गरेको छ । नक्कली नोट, लागूऔषध, तस्करीलगायतका अन्य अपराधजन्य कार्यलाई नियन्त्रण गर्न दुवै पक्षबीच सहकार्यलाई बढाउने समझदारी भएको छ ।
बैठकमा दुई महिना अगाडि दार्चुलामा भारतीय एसएसबीका जवानले तुइन फुस्काइदिँदा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको विषयमा बैठकमा कुनैपनि चर्चा नभएको जनाइएको छ । उक्त घट्नामा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट नै पठाएको र त्यो विषय कूटनीतिक तहकै कुरा भएकाले त्यस विषयमा सुरक्षा फौजको बैठकमा कुरा नउठाइएको नेपालका अधिकारीहरुले बताएका छन् । भारतीय पक्षले पनि त्यस विषयमा केही कुरा राखेका छैनन् ।
सशस्त्र प्रहरी र एसएसबीबीच वर्षेनी नियमित रुपमा यस्तो बैठक हुँदै आएको छ । आलोपालो दुई देशमा हुँदै आएको यो बैठक गतवर्ष कोभिड-१९का कारण रोकिएको थियो । आगामी बैठक नेपालमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्