एमाले सबै हिसाबले पतनको दिशामा गएको अध्यक्ष नेपालको टिप्पणी

काठमाडौं , असोज २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्। बिहीबार एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्।

नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी पार्टी रोजेको नेपालको भनाइ छ। उनले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको टिप्पणी गर्दै एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टीजस्तो भएको बताए।

‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको व्यहोरा पनि हामीले भर्खरै सुन्यौँ। अन्तिमसम्म प्रयत्न गर्दा पनि त्यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने भयो भन्ने निष्कर्षमा पुगेर र पछिल्लो कालको तमासा विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात, त्यहाँ अघि सारिएका मान्यताहरू सबै चिजहरू देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो । नयाँ यात्रामा प्रवेश गर्नुभएको छ, यसमा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछन्। केपी ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्,’ नेपालले भने।

अध्यक्ष नेपालले नेता जोशीलाई पार्टीको स्थायी कमिटी सदस्यमा लैजाने घोषणासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्