माधव नेपालको पार्टीले किन अझै लगाउन सकेन मन्त्रीको टुंगो ?

काठमाडौँ , १९ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको नामबारे औपचारिक रुपमा कुनै छलफल नभएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीबाट मन्त्री बनाउनेहरूको नाम दिन पटक–पटक आग्रह गर्दै आएका छन् ।

गठबन्धनका केही पार्टीका नेताहरुले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुग्याएपनि एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामबारे छलफल भैनसकेको बताए । ‘सत्ता गठबन्धनबीच मन्त्रालयको टुङ्गो लागेपछि मात्रै पार्टीबाट क–कसलाई मन्त्रीमा पठाउने भन्ने निर्णय हुन्छ’, महासचिव भुसालले भने,‘मन्त्रालय नटुंगिएसम्म मान्छे जाने टुंगो नलाग्ने मात्रै होइन,मान्छे जाने कुरै चल्दैन ।’

एकीकृत समाजवादीका तर्फबाट विरोध खतिवडा,रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, मेटमणी चौधरी लगायतको नाम चर्चामा आएको थियो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । गठबन्धनले लामो समयसम्म मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको भन्दै आलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्