जनकपुर बमकाण्ड : योजनाकार सञ्जय साहको सजाय उच्च अदालतले घटायो

काठमाडौँ , १८ असोज । उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’लाई ज्यान मार्ने उद्योग गरेको आरोपमा १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको छ ।

न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय घटाएको हो ।

बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा उच्च अदालतले कसुरदार ठहर गरेको छ । कति समय कैद गर्ने भन्ने विषयमा अर्को सुनुवाइपछि निर्णय हुनेछ ।

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले मुलुकी संहिताभन्दा अघि नै ज्यान मार्ने मुद्दाको प्रक्रिया अघि बढेकाले एकैसाथ सजाय पनि सुनाइएको बताए ।

तर कर्तव्य ज्यानको मुद्दा भने संहितापछि अघि बढेकाले कसुरदार ठहरिएपछि सजाय निर्धारणको लागि मिति तोकिएको हो । विचमा दशैंविदा भएकाले त्यसपछि कैद सजायका बारेमा सुनुवाइ र फैसला हुने उनले बताए ।

साहको हकमा ज्यान मार्ने उद्योगमा सजाय घटाए पनि उच्च अदालतले अरुको हकमा जिल्ला अदालतले गरेको सजाय सदर गरेको हो । आइतबार राति अबेर मुद्दाको फैसला गर्दै राय तयार भएकाले त्यसको विस्तृत विवरण तयार भएको छैन ।

२०६८ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । संविधान निर्माणका क्रममा मिथिला राज्यका लागि दवाव दिन मिथिला राज्य संघर्ष समितिले धर्ना कार्यक्रम गरेको ठाउँमा विस्फोट भएको थियो ।

उक्त घटनाको जनतान्त्रिक तराई मुक्ती मोर्चाका राजन मुक्ती समूहले जिम्मा लिएको भनिए पनि पछि सञ्जय साह लगायतले घटनाको योजना बनाएको खुल्यो । त्यसपछि प्रहरीले उनीविरुद्ध ज्यान मारेको र ज्यान मार्ने प्रयास गरेको आरोपमा एकैसाथ दुई मुद्दा चलाएको थियो ।

त्यो मुद्दामा साढे २ वर्षअघि २०७५ साल चैत १४ गते जिल्ला अदालत धनुषाले साह सहितका आरोपितहरु घटनामा संलग्न रहेको ठहर सहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतले घटनामा संलग्न रहेको ठहर सहित जय प्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई १२ वर्ष कैद सजाय सुनाएको थियो, जुन उच्च अदालतबाट पनि सदर भयो ।

प्रतिक्रिया दिनुहोस्