एमसीसी सम्झौताको पछिल्लो अवस्थाबारे बोर्ड बैठकमा समीक्षा

काठमाडौं , असोज १५ । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ ।

एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसीसी अनुमोदनलाई अगाडि बढाउनका लागि एमसीसीको उच्चस्तरीय टोलीले महिनाको सुरुमा गरेको नेपाल भ्रमण र पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो ।

गत सेप्टेम्बर ९ मा एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाल भ्रमण गर्नुभएको थियो । नेपालमा रहँदा उहाँले राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटी एमसीसी शीघ्र अनुमोदन गर्न आग्रह गर्नुभएको थियो ।

एमसीसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्