एमाले विधान संशोधन प्रस्ताव : ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव, उपमहासचिव पद खारेज
काठमाडौं, असोज १५ । नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।
त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि प्रतिनिधिले पेस गर्ने सुझाव संकलनका लागि प्रतिवेदन सुझाव संकलन समिति, विधान महाधिवेशनका सूचना प्रचार प्रसारका लागि प्रचार व्यवस्थापन समिति पनि गठन गरिएको छ ।महाधिवेशनमा प्रस्तुत हुने बहस नोट गर्नका लागि पनि समिति बनाइएको छ ।
यसैबीच महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन् ।
यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहेको एमालेमा उपाध्यक्ष कति बनाउने भनेर व्यापक छलफल भएको थियो । सुरुमा अध्यक्ष केपी शर्मा ओलीले ३ जना उपाध्यक्ष राख्ने प्रस्ताव राखेका थिए । केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा ३ जना उपाध्यक्ष र ७ सचिवको प्रस्ताव राखेका थिए । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।
त्यस्तै विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव भने गरिएको छैन । अहिले एमालेमा २ जना उपमहासचिव रहेका छन् । त्यस्तै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ । प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ ।
त्यस्तै १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्