‘सरकारले एमाले अध्यक्षसँग सिधै वार्ता नगरेसम्म संसद खुल्दैन’

काठमाडौं, असोज १४ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनु पर्ने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरूले उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँँग मात्र सिधै छलफल गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना मुद्दालाई सम्बोधन गरेर सिधा संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए । भट्टराईले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला कदमविरुद्ध रहेको बताए ।

उनले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन, संविधान विपरीत, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए ।

अरू सत्ता गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाइ छ । एमाले संवादमा विश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए । आफ्ना सांसदको कारबाहीका विषयमा सभामुखसँग आपत्ति रहेको र पार्टी फुटाउन संसद् छलेर अध्यादेश ल्याउने तथा फिर्ता गर्ने विषयमा सरकारसँग आपत्ति रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्