काठमाडौंमा सभा, जुलुस, जात्रा र भोज गर्न प्रशासनको रोक

काठमाडौं , असोज १४ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ संक्रमण कायम रहेको बताउँदै अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको आदेशमा नजिकिँदो चाडपर्व न्यूनतम सहभागितामा र सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ । यो आदेश बिहीबारदेखि नै लागू हुने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गर्दै सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने जनाएको छ । बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने आदेशमा भनिएको छ ।

होटल पार्टी प्यालेसमा बढीभन्दा धेरै मानिस सहभागी गराउनुपरे एन्टिजेन वा पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ ।

उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै सञ्चालन गर्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्