एमसीसी परियोजनाका बारेमा गलत प्रचार गरियो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं, असोज १४ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकन सहयोग परियोजना ९एमसीसी० बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर बिहीबार नेपाल फर्कने क्रममा उनले सो कुरा बताएका हुन् । स्वदेश फर्कने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले परियोजनाको बारेमा आफूले नबोलेको कुरा प्रचार गरिएको बताए ।

एमसीसी अनुमोदन हुँदैन भनेर तपाईंले बोल्नुभएको हो भन्ने प्रश्नमा मन्त्री खड्काले त्यसबारे जसरी प्रचार भयो त्यो बोल्दै नबोलेको दाबी गरे । मन्त्री खड्काले गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा एमसिसी नेपाल सरकारले मागेको परियोजना भएकाले संशोधन नहुने उल्लेख गरेका थिए ।

‘२९ भदौं २०७४ मा हामीले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो अहिले संशोधन गरौं भन्दा एमसीसी लागू भएका अन्य देशहरुले के भन्छन् अन्य देशहरूले ४२, ४५ देशहरूले पनि त्यसै गरौ भन्छन् कि !  हामीले एकचोटि सही गरेर संशोधन गरौं भन्दा अन्य देशहरूले पनि त्यसै भन्छन् कि भनेर चाहिँ मैले बोलेको हो’, उनले भने । संशोधन हुनै नसक्ने विषय आफूले नबोलेको खड्काको दाबी छ ।

महासभाको सम्बोधनको क्रममा आफूले कोभिडबाट मुक्ति पाउन विश्वका देशहरुको खोपको समान पहुँचमा हुनुपर्ने कुरा उठाएको बताए । यस्तै जलवायु परिवर्तन ले हिमालय क्षेत्रमा पारेको प्रभाव, दिगो विकास लक्ष्य प्राप्तीमा नेपाल जस्ता देशलाई धनी राष्ट्रले सहयोग गर्नुपर्ने विषय प्राथामिकता साथ उठाएको बताए ।

विश्वमा बढ्दो आतंकवाद नियन्त्तण गर्न साँझा कार्यक्रम तय गर्नुपर्ने विषय पनि आफूले उठाएको उनले बताए । ‘घातक र खतरनाक हतियार खरिद बिक्रीको प्रतिष्पर्धा बाट शक्ति राष्ट्र मुक्त हुनुपर्ने र हरितयारमा गर्ने लगानी कम विकसित राष्ट्रमा लगानी गर्न मैले आग्रह गरे’, उनले भने । उनले विश्व शान्ति मिसनमा नेपाल र नेपाली सेनाको महत्वपूर्ण भूमिका भएको भन्दै त्यसको उचित सम्मान र पोजिसन क्लियर गरिदिन आग्रह गरिएको पनि बताए ।

मन्त्री खड्काले कुवेतसँगका प्रतिनिधिहरुको सँगको भेटमा नेपाली कामदाहरूको हक, अधिकारका स्थापित गर्ने विषयमा दुई पक्षीय छलफल भएको बताए । यस्तै बंगलादेशसँग विद्युतीय उर्जा र साझा हितको विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्