असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्दै तारा एअर
काठमाडौं, असोज १२ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडान गर्ने भएको छ ।
नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो।
यती एअरलाइन्सका प्रवक्ता एवम् हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको जानकारी दिए।
विगतका वर्षहरुमा जस्तै पोखरा विमानस्थलमा नै जहाज राखेर तारा एअरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेको उनले बताए ।
कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटा सम्म उडान भर्दै आएको थियो। तारा एअरसँग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर वायुयान रहेको छ।
ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्