धामीको हत्या आरोपमा ३ जना पक्राउ
काठमाडौँ , ११ असोज। रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।
धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरीलाई पक्राउ गरेको छ ।
प्रहरीले शुरुमा पर्साका २४ वर्षीय रमेश पहरीलाई पक्राउ गरेको र उनको वयानका आधारमा अरु दुई जना पक्राउ परेका हुन् । रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार पहरीले कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको योजनामा घटना भएको बताएका छन् ।
बोलखेको परिवारका सदस्य बिरामी भएको दोष धामीलाई लगाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको घिमिरेको भनाइ छ । बोलखेले घोरासैनीको हत्याका लागि ३ लाख रुपैयाँ दिएको पनि अभियुक्तहरुले बयानका क्रममा बताएको एसपी घिमिरेले बताए ।
पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । सहदेव भन्ने डोलप्रसाद बोलखे फरार रहेकोले उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्