बुद्ध एयरको विमानका यात्रुको अनुभव : हामीले त आश मारिसकेका थियौं!

काठमाडौँ , ११ असोज। सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो ।

त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । धेरैबेरपछि त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङ भयो ।

यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै डर लागेको थिएन । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि भने डर लाग्न थाल्यो । सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले बताए ।

यात्रु अनमोल प्रधानले जहाजभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो ।

त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६ र ७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाडौं आएपछि पनि ८ र ९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।

त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हाम्रो पाइलट एजी शेर्पा निकै अनुभवी हुनुहुन्थ्यो । जहाजमा केही जानकारी पनि दिइएन, हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं ।

एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनु भयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।

त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्