सुधार भएन कर्णालीमा विद्युतको समस्या
काठमाडौँ , १० असोज । ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ ।
उत्पादन क्षमता बढाउनु त परको कुरा हो, यहाँ विद्युतीकरण भएको क्षेत्रमा पनि विद्युत सेवा कुन बेला अवरुद्ध हुन्छ भन्ने ठेगान हुँदैन । यहाँ दिन र घण्टाका हिसाबले होइन, मिनेट र सेकेण्डमा विद्युत सेवा अवरुद्ध र सुचारु हुने गर्दछ ।
त्यसो त, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालमा लोडसेडिङ अन्त्य गरेर ख्याति कमाएका व्यक्ति हुन् । अघिल्लो कार्यकालमा उनले नेपाललाई लोडसेडिङमुक्त बनाएका थिए । डेढ महिना अघि उनी पुनः नियुक्त भएपछि कर्णालीवासीले आफ्नो प्रदेशमा विद्युतको दुरावस्था अन्त्य हुने अपेक्षा गरेका थिए । तर कर्णालीवासीले विद्युत सेवा प्रवाहका हिसाबले कुलमानको पुनरागमन भएको अनुभूति अझै गर्न सकेका छैनन् ।
प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा समेत उपभोक्ता लोडसेडिङको मारमा छन् । देशका अन्य शहर–बजार झिलिमिल भइरहँदा सेकेण्ड र मिनेटको फरकमा हुने विद्युत अवरोधले हरेक क्षेत्रमा समस्या हुने गरेको छ । तर, यसको विकल्प र समाधान खोज्नतर्फ भने सरोकारवाला निकायले चासो देखाएका छैनन् ।
कर्णालीमा एक त विद्युतीकरण नै भएको छैन, भएको बिजुलीले पनि नागरिकलाई विद्युतीकरणको प्रत्याभूति दिन सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका अनुसार कर्णालीमा हालसम्म ३४ प्रतिशत राष्ट्रिय प्रसारण र केही नवीकरणीय ऊर्जाबाट गरी झण्डै ३६ प्रतिशत नागरिकमात्र विद्युतको पहुँचमा छन् । बाँकी ६४ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुग्न सकेको छैन ।
विद्युतको पहुँचमा भएका नागरिकले समेत विद्युत सेवा अनियमित हुँदा सास्ती भोग्नु परिरहेको छ । विद्युत अनियमित हुँदा सेवा प्रवाहका क्षेत्रमा समस्या हुने गरेको छ भने विद्यार्थीहरुलाई घरमा पढ्न–लेख्नदेखि सूचना प्रवाह गर्ने सञ्चार क्षेत्रमा समेत पहुँचका लागि प्रभाव पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्