कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

काठमाडौँ , १० असोज । नेपाली काँग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको मतदानमा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा खसेको १ हजार ३४४ मध्ये सभापतिमा निर्वाचित बिजुक्छेले ४१४ मत पाएका छन् भने उनका प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत पाएका छन् । सभापति पदका अर्का उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योती हमालले ११ मत प्राप्त गरेका छन । पोखरा महानगरको सभापतिका लागि ६ जना उम्मेदवारी दिएका थिए ।

सभापतिमा निर्वाचित बिजुक्छे यसअघि उपसभापतिको भूमिका निर्वाह गरेका थिए । हाल उनी पोखरा उद्योग वाणिज्य संघको महासचिव समेत रहेका छन् । उनी २०३६ सालबाट नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा होमिएका थिए ।

यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन्। यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि विजयी भएका छन् ।

त्यसैगरी कास्कीको मादी गाउँपालिकाको सभापतिमा यम बहादुरु गुरुङ निर्वाचित भएका छन् । उनले प्रत्यासी देवीजंग गुरुङलाई एक मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । निर्वाचनमा खसेको २०४ मतमध्ये यमले ९३ र देवीजंगले ९२ मत प्राप्त गरेका थिए ।

यस्तै, पार्टीको उपसभापतिमा लीलामोहन कुइँकेल र कृष्णचन्द्र बराल निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भोजबहादुर गुरुङले १२१ र देवीजंग गुरुङले ११४ मत प्राप्त गरि विजयी भएका छन् ।
यस्तै, पार्टीको सहसचिवमा तेज रानाभाटले ८२ र बोधबहादुर ढकालले ८१ मत प्राप्त गरि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्