अबको चुनावपछि देशबाट एमाले सकिन्छ : अध्यक्ष नेपाल
काठमाडौं, असोज ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावपछि देशबाट एमाले सक्किने दाबी गरेका छन् ।
मकवानपुरको हेटौंडामा आयोजित आफ्नो पार्टीको भेलालाई आज सम्बोधनका क्रममा एमालेबाट विभाजित भएर नयाँ यात्रा थालेका नेपालले यस्तो बताएका हुन् ।साथै हेटौँडामा शनिबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’
एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो । ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?,’ उनले भने ।
एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उनले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गरेका थिए ।ओलीले जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उनलाई विदा गर्नुपर्छ भन्ने योजनामा आफूहरू लागेको नेपालको भनाइ थियो ।
२०७१ सालमा नै गलत व्यक्ति र तरिकाले एमाले अगाडि बढिरहेको भन्दाखेरि त्यस्तो भन्नेलाई शत्रु ठानेको नेपालले बताए । नेपाल कम्युनिस्ट पार्टी गठनका क्रममा आफूलाई जानकारी नभएको र पुष्पकमल दाहालसँग गोप्य सहमति गरेर ओली अगाडि बढेको नेपालको भनाइ थियो । दुवै जनाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा-आधा कार्यकाल बाँड्ने सहमति गरेको तर त्यो सहमति ओलीले उल्लंघन गरी कागजमै सीमित राखेको नेपालको भनाइ थियो ।
‘प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो,’ ओलीले विगतमा भनेका कुरा स्मरण गर्दै नेपालले भने, ‘मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’
‘कुर्सी भाँचिदिन्छु’ भनेको प्रतिनिधिसभा विघटन रहेको नेपालको भनाइ थियो । ‘१५ वर्ष प्रधानमन्त्री बन्ने सपना देखेर प्रतिनिधिसभा विघटन गर्नुभएको थियो,’ उनले भने ।















प्रतिक्रिया दिनुहोस्