सभापतिमा उमेदवारी दिने प्रकाशमानको घोषणा

काठमाडौं, असोज ९ ।  महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा उमेदवारी घोषणा गर्नेक्रम बढ्दो छ । यसैबीच  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको उनले बताए ।

शनिबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१७ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गरे ।

१४औँ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी समेत उनले दिए । उनले सिंगो पार्टीपंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक–पटक दोहोर्‍याए ।

नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अ्ब सभापति भएर काम गर्न चाहेको बताए । “अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई राख्न मिल्दैन है । सबै नेताहरूलाई हामी सम्मान गर्छौँ । त्याग, तपस्या, कुर्वानी उहाँहरूले डेमोक्रेसी ल्याउनका लागि गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर, अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ, यदि हामीले यो लथालिंग अवस्थामा १४औँ महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौँ भने यो पार्टी प्रजापरिषद्को बाटोमा जान धेरै दिन लाग्दैन,” उनले भने, “त्यही कारणले गर्दाखेरी मैले अनुभव बोकेको छु, देखेको छु । पार्टीमा आमूल परिवर्तन ल्याउनका लागिचाहिँ ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लुजन ड्र गरेर अबचाहिँ ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागिरहेको छु ।”

आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उमेदवारी दिने योजना बनाएको नेता सिंहले बताए । उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने पनि बताए ।

नेता सिंहले पार्टी नेतृत्वले १४औँ महाधिवेशनको मिति फेरि पनि सार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्