एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, तेस्रो धारका नेता असन्तुष्ट

काठमाडौं, असोज ९ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन् ।

बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठनिक र विधान संशोधन प्रस्ताव पेस गरेका छन् । एमालेले उक्त प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफलका लागि सात प्रदेश र एक जनवर्गीय संगठन गरी आठवटा समूह छुट्याइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म सम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्