एमालेमा वामदेव गौतमको राजीनामा अस्वीकृत
काठमाडौँ , ८ असोज । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।
गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको जानकारी दिए ।
राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने एमालेका एक स्थायी समिति सदस्यले बताए ।
गौतमले आफ्नो राजीनामा पत्रमा अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशा पालना नगरेको तथा सरकारमा हुँदा साझा घोषणापत्र समेत लागु नगरेको गुनासो गरेका थिए ।
त्यस्तै उनले सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको तथा पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको राजीनामामा उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्