दशैंका लागि असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने, अनलाइनबाट पनि काट्न सकिने
काठमाडौं, असोज ७ । आगामी असोज ११ गतेदेखि दसैँ तथा चाडबाडलक्षित अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
बिहीबार गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बैठकले दसैँलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको बताए । उनले यातायात व्यवसायीहरूसँगको पर्याप्त छलफलबाट अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए।
‘कोरोना महामारीको वेला भएकोले कोचाकोच नगरी र स्वास्थ्य मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने छलफल भएको छ । बढी भाडा असुल्नेमाथि कारबाही हुन्छ,’ प्रवक्ता भुसालले भने ।
यातायात व्यवसायी केन्द्रीय महासंघका महासचिव सरोज सिटौलाले सरकारसँग पर्याप्त छलफलपछि बुकिङ खुला गर्न सहमत भएको बताए । उनले प्रदेशस्तरको भाडादर कायम गर्ने विषयमा पनि सरकारसँग छलफल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्