थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि , १३ जनाको मृत्यु

काठमाडौं, असोज ७ । ने्पालमा आज देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् । यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६ प्रतिशत पुगेको छ । कोभिड–१९ को संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ लाख ३८ हजार ३८५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्