डा. खड्काले लिए परराष्ट्रमन्त्रीको शपथ , राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै

काठमाडौं , असोज ६ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ लिएका छन् ।नवनियुक्त मन्त्री खड्कालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

मंगलबार बसेको सत्तारूढ गठबन्धन बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो । गठबन्धनमा आबद्ध दलहरूले डा। खड्काको विषयमा सहमति जनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका हुन् ।

नेता खड्काको सचिवालयले दिएको जानकारी अनुसार मन्त्री पदको शपथ लिएसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् । स्रोतका अनुसार राष्ट्रसंघ महासभामा सहभागी जनाउन नेपालका तर्फबाट मन्त्री नहुँदा राम्रो सन्देश नजाने भन्दै देउवाले गठनबन्धनका नेताहरूलाई सहमत गराएका थिए ।

डा। खड्का २००५ साल चैत ७ गते भोजपुरमा जन्मिएका हुन् । ०२३ सालमा विद्यार्थी जीवनकालबाटै राजनीतिमा होमिएका खड्का पटक–पटक मन्त्री भइसकेका छन् । उदयपुरबाट निर्वाचन जितेका थापा संविधानसभा सदस्य पनि हुन् ।

उनी यसअघि पनि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकासमन्त्री बनेका थिए । उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी अर्थशास्त्रमा पीएचडी हुन् ।

प्रतिक्रिया दिनुहोस्