मन्त्रीको टुंगो लगाउने तयारीमा माओवादी केन्द्र, स्थायी कमिटीको बैठक बस्दै , यी हुन् सम्भावित नाम
काठमाडौं, असोज ६ । नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाउन छलफल तीव्र बनाएको छ। त्यसका लागि स्थायी कमिटीको बैठक बोलाएको छ ।
बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । आज बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंगो लगाउने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।
माओवादीको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको छ। दुई मन्त्री नियुक्त भइसकेकाले आजको बैठकमा थप तीन जनाको नामका विषयमा छलफल गर्न लागिएको नेता पौडेलले जानकारी दिए ।
आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस देखिएको छ।
यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशिताका आधारमा मन्त्री चयन गर्ने तयारी भएको नेता पौडेलले बताए। माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवेन्द्र पौडेल, सुदन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन्। त्यसमध्ये नारायणकाजी, देवेन्द्र पौडेल र शिवकुमार मण्डलको सम्भावना बलियो रहेको एक नेताको दाबी छ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागी नहुने संकेत गरेपछि माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरु पठाउने तयारी गरेका हुन्।
मंगलबार सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो। उक्त छलफलमा एकीकृत समाजवादी र जनता समाजवादीले केही दिनपछि मात्रै सरकारमा सहभागी हुने बताएका थिए । तर, मन्त्रालय भागबन्डाको विषयमा भने सहमति भएको थियो।
सोही सहमतिपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसबाट डा। नारायण खड्कालाई नियुक्त गर्ने निर्णय गरेका थिए। यता कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा थप मन्त्री छान्ने विषयमा छलफल हुँदैछ।















प्रतिक्रिया दिनुहोस्