यो वर्ष दसैँमा घर जाँदा यात्रुले २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने, १० लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं, असोज ५ । यो वर्षको दशैं आउन अब केहिदिन मात्रै रहेको छ । यसका लागि आफ्नो घर भन्दा बाहिर रहेकाहरु घर जाने तरखरमा लागेका छन् । यता काठमाडौंबाट १० लाख मानिस बाहिरिने आँकलन गरिएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले यस वर्षको दसैँमा काठमाडौँ उपत्यकाबाट करिब १० लाख मानिस घर फर्किने अनुमान गरिएको बताए । उनका अनुसार गत वर्ष कोरोना महामारीका कारण उपत्यकाबाट जम्मा पाँच लाख मानिस बाहिरिएका थिए ।

विभागले अघिल्लो वर्षको तुलनामा बढी मानिसहरूले यस वर्ष उपत्यका छाड्ने अनुमान विभागले गरेको हो । महासंघले पनि सोही अनुपातमा मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ । त्यस्तै दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल असार २७ गते अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन यातायात भाडादर बढाएको थियो ।

बढाएको भाडादर असार २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका कारण ग्यारेजमा लामो समयसम्म थन्क्याउनुपर्दा सवारीसाधनको पाटपुर्जामा समस्या आएको जनाउँदै सरकारले भाडा बढाएको थियो । अब, दसैँमा उपत्यकाबाट घर जाने यात्रुहरूले सोही भाडादरअनुसार रकम तिरेर घर जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

मन्त्रिपरिषद्को बैठकले भदौ २७ गते बढाएको २८ प्रतिशत भाडादर लागू भइसकेकाले दसैँमा सोही भाडादर लागू हुने सिटौलाको भनाइ छ । उनले सरकारले तोकेभन्दा बढी भाडा लिन नमिल्ने र महासंघले त्यस्तो काम नगर्ने पनि बताए ।

यात्रुले उपत्यका छाडेर दसैँ मनाउन घर जाँदा चार प्रकारका सवारी अनुसार फरक–फरक भाडा तिनुपर्ने महासचिव सिटौलाले जानकारी दिए ।

यस्तै यातायात व्यवस्था विभागले यही असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी भइरहेको जानकारी दिएको छ । विभागका अनुसार असोज ११ गतेसम्ममा अग्रिम टिकट बुकिङ खुलिसक्नेछ । यही विषयमा छलफल गर्न विभागले असोज ७ गते यातायात व्यवसायी र महानगरीय ट्राफिक प्रहरीसँग छलफल पनि गर्दैछ ।

व्यवसायी र ट्राफिक प्रहरीसँगको छलफलपछि अग्रिम टिकट बुकिङ खुलाउने सूचना अधिकारी भुसालले जानकारी दिए । यही विषयमा छलफल गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघले समेत आन्तरिक छलफल गर्दैछ । आन्तरिक छलफल सकिएपछि विभागसँग समन्वय गरी अग्रिम टिकट बुकिङ खुलाउने महासंघले जानकारी दिएको हो । गत वर्ष भने कोरोना महामारीको प्रभावका कारण दसैँमा अग्रिम टिकट बुकिङ खुलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्