मन्त्रिपरिषद् विस्तार नभएकोबारे ओलीले भने- देशको बहुमूल्य समय मात्रै बर्बाद भयो
काठमाडौं, असोज ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोचना प्रधानमन्त्रीको शपथ लिएको ७० दिन पुगिसस्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर भन्दै शेरबहादुर देउवाको आलोचना गरेका छन् ।
उनले अझैसम्म पनि मन्त्रिपरिषद् विस्तार नगरेर खाली मुलुकको बहुमूल्य समय मात्रै बर्बाद गरेको आरोप लगाए ।
मदन भण्डारीको जीवनमा आधारित पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले भने, ‘यो शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकार हो । यसमा रंगीविरंगी मान्छेहरू छन् । अझै कोसिस गर्दै हुनुहुन्छ रंगिविरंगी बनाउने । उहाँहरूको रेकर्ड त ६६ सम्मको छ । उहाँहरूले पायो भने त, तर अहिले संविधानले दिँदैन २५ मा सीमित हुनुपर्छ । २५ मा सीमित हुन उहाँहरूलाई सजिलो भइरहेको छैन,’ ओलीले भने, ‘कार्यकाल सवा वर्षको छ त्यसको २० प्रतिशत भाग गयो । खाली चिन्ता देशको बहुमूल्य समय बर्बाद भयो, दुरुयपयोग भयो भन्ने हो ।’
ओलीले न्यायाधीश, वकिल र पत्रकारहरूलाई पदक दिएर आफ्नो विरुद्धमा बोल्नबाट रोक लगाएको आरोप लगाएका छन् । संविधान दिवसको दिन ९०३ जनालाई पदक दिएको भन्दै उनले रत्नपार्कमा बसेर पदक वितरण गरेजस्तो भएको बताए ।
आफ्नो कार्यकालमा त्यसरी पदक वितरण गरेको भए चर्को आलोचना हुने थियो भनेर पनि उनले बताए । एमाले नेतृत्वको सरकाले अगाडि सारेका १४ सय सडकका आयोजना रद्द गरेर सरकारले बहादुरी देखाएको भन्दै उनले कटाक्ष गरे ।
अहिलेको पदक वितरण मदन भण्डारीले देखाएको बाटो नभएको उनले बताए। यो मदनले देखाएको विपरीतको बाटो भएको उनले जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्