एमालेद्वारा सभामुखको राजीनामा माग, विनियोजन विधेयक राष्ट्रिय सभामा पेस, अर्को बैठक बिहीबार
काठमाडौं, असोज ५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । आजको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ‘कुर्सीको गरिमा जोगाउनु पर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’
गैरसांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ । ‘सडकदेखि सदनसम्म कुरा उठिरहेको छ, गैरसांसदहरूलाई सदनमा राखिएको छ । त्यो गर्दा सदनको संविधानको रक्षा भयो कि भएन ? संविधानले व्यवस्था गरेअनुरुप भयो कि भएन ?’
सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाए लगत्तै कारबाही गर्ने तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको श्रेष्ठको भनाइ थियो । सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उनले जानकारी दिए ।
यसैबीच विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक बिहीबार २ बजे बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्