एक हप्ताभित्र सरकारमा हुन्छौं : माधव नेपाल
काठमाडौं, असोज ३ । । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आज (आइतबार) पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको जानकारी दिए ।
‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’
उनका अनुसार प्रदेश–१ र बागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको बताएका छन् । ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ उनले भने ।
गण्डकी प्रदेशमा भने ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उनले आरोप लगाए । ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’















प्रतिक्रिया दिनुहोस्