संविधान दिवस : कार्यालय सहयोगीदेखि आईजीपीसम्म ११९ प्रहरीलाई पदक

काठमाडौँ , ३ असोज । संविधान दिवसका दिन सरकारले नेपाल प्रहरीका ११९ जनालाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा पदकको घोषणा गरेकी हुन् । मान–पदवी, अलङ्कार र पदकद्वारा सम्मान गर्ने घोषणा गरिएकामा प्रहरी कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म छन् ।

कार्यालय सहयोगी सूर्य कुमारी अधिकारीले राष्ट्रसेवा पदक प्रथम श्रेणी पाउने भएकी छिन् । अधिकारी महानगरीय प्रहरी पहरा गण गुल्म नम्बर–४ सामाखुसीमा कार्यरत छिन् । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गर्ने घोषणा गरिएको छ ।

डिआइजीहरू घनश्याम अर्याल, धिरज प्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, वसन्त कुमार पन्त, प्राविधिक डिआईजी डा. ,मिनराज पाठक र डा. रामकृष्ण राजभण्डारीलाई सुप्रबल जनसेवाश्रीले सम्मान गर्ने निर्णय गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरू राजेशनाथ बास्तोला र उमेश राज जोशी र श्यामलाल ज्ञवाली सहित थप १० जना प्रहरी अधिकृतले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

कास्कीका एसपी रमेश थापा र धनुषाका एसपी प्रकाश रानाभाटलाई कीर्तिमय राष्ट्रदीपले सम्मान गर्ने घोषणा गरिएको छ । एसपीद्वय उमा प्रसाद चतुर्वेदी र रवीन्द्र रेग्मीलाई प्रबल जनसेवाश्रीले सम्मान गर्ने निर्णय गरिएको छ ।

प्रबल जनसेवाश्री पाउनेमा डिएसपीहरू काजीकुमार आचार्य, नरेशराज सवेदी, सुधिरराज शाही र भेषराज रिजाल छन् । इन्स्पेक्टर एलिजा गिरी र थप १६ जना प्रहरी अधिकारीले प्रबल जनसेवाश्री पाउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्