सार्वजनिक भए युनिटीका प्रसाद गुरुङ, पीडितको रकम फिर्ता गर्छु भन्दा पनि पाएनन्
काठमाडौं , असोज २। युनिटी लाइफका अध्यक्ष काशिराम (प्रसाद) गुरुङले पीडितको पैसा फिर्ता दिने घोषणा गरेका छन् ।काठमाडौंमा आज आयोजित सेभ द नेशन मुभमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू हिजोका दिनमा युनिटीबाट पीडित भएकाहरुको पैसा फिर्ता दिन तयार भए पनि सरकारले रोक लगाएको बताए ।
‘म अझै पनि उहाँहरुको पैसा फिर्ता दिन खोजिरहेको छु, सरकारले मलाई त्यो काम गर्न रोक लगाएको छ’ उनले चिन्तित हुँदै भने ‘मैले कसैलाई पनि दिन्न भनेको छैन, सरकारले वातावरण बनाइदियोस् म फिर्ता गर्छु ।’ उनले आफूलाई अनावश्यक आरोप लगाएर बद्नाम गर्न खोजिएको पनि बताए ।
मुभमेन्टका संयोजकसमेत रहेका उनले आफूहरुको योजनाले विकास निर्माणका धेरै काम भएको पनि दाी गरेका छन् । ‘हाम्रो संस्थाले जलस्रोत, उर्जा, स्वास्थ्य, शिक्षा र रोजगारका त्यति धेरै काम गरेको थियो तर सरकारले देखी सहेन’ उनले भने ‘अनावश्यक रुपमा त्यो अभियान बन्द गरेर सरकारलाई पनि घाटा लागेको छ, जनता निराश छन् ।’ उनले यो नयाँ अभियान निरन्तर चलिरहने स्पष्ट पारेका छन् । विदेशी हस्तक्षेप बन्द गर्न सके देश बचाउन सजिलो हुने उनको भनाई छ । नेताहरुले जुनसुकै देशबाट पैसा खाएकाले पनि उनीहरु देशप्रति जिम्मेवार बन्न नसकेको उनको बुझाई छ ।
मुभमेन्टले संविधान परिमार्जन गर्न पनि सरकारसँग माग गरेको छ । ‘कि संविधान परिमार्जन गर्नुपर्छ होइन भने खारेज नै गर्नुपर्छ’ उनले भने ‘मुभमेन्टले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई सर्वोपरी ठान्दै सबैखाले विभेदको अन्त्य गर्दै आफ्ना कार्यक्रमलाई अघि बढाउँछ ।’ उनले अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
मुभमेन्ट सबैको साझा भएको र यसमा राजनीति नमिसिएको उनको भनाई छ । उनले भोलिको दिनमा यही अभियानले पार्टीको रुप लिने र देशव्यापी संगठन गर्न सकिने पनि जनाएका छन् । संयोजक गुरुङले सरकारले शिक्षा, स्वास्थ्य र रोजगार दिने नाममा व्यापार गरेको आरोप लगाएका छन् । सरकारले युवा शक्तिलाई रोजगार दिन नसकेर विदेश पठाएको भन्दै आक्रोश पोखे ।
उनले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, मानव अधिकार, समान अधिकार, समान रुपले धार्मिक, सांस्कृतिक र जातीय अधिकारको स्थापना गर्दै सार्वभौम नेपालको स्थापना गर्न मुभमेन्ट सुरु गरिएको उनले स्पष्ट पारे ।
उनले सबैको अधिकार स्थापना नहुन्जेल र लक्ष्यमा नपुगुन्जेल आन्दोलन नरोकिने समेत बताएका छन् । भ्रष्टाचार निर्मूल गर्ने र नेपाललाई शान्ति क्षेत्र बनाउन अन्तर्राष्ट्रिय समन्वय गरी समृद्ध नेपाल निर्माण गर्ने पनि अभियानको लक्ष्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्