५७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सकियो, १३ जिल्लामा अनिश्चित
काठमाडौं, असोज १ । १४ औँ महाधिवेशनअन्तर्गत कांग्रेसले ५७ जिल्लाको वडा तहको अधिवेशन गरेको छ । त्यसमध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अधिवेशन भने विवादित छ ।
अहिलेसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन भइसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी २० जिल्लामध्ये ७ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्त भएर समितिले प्रकाशितसमेत गरिकसको छ ।
अन्य १३ जिल्लामा भने अधिवेशन हुने वा नहुने अनिश्चित छ । ‘प्रदेश २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्य हामीलाई प्राप्त भएको छैन । सदस्यको नामावली नै त्यहाँको मतदाता हुन् । त्यसैले अधिवेशन हुने कुरै भएन,’ उनले भने, ‘त्यसबाहेक डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीको पनि नामावली हामीलाई प्राप्त भएको छैन ।’
निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली प्रकाशित भएका ७ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ । ती जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ । काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा ५ असोजमा वडा अधिवेशन गर्ने गरी निर्वाचन अधिृकतहरु खटाइएको सचिव श्रेष्ठले जानकारी दिए ।
तर, सदस्यको नामावली नै टुंगो नलागेका १३ जिल्लामा भने कहिले अधिवेशन हुने भन्ने निश्चित छैन । ‘नामावली प्राप्त हुने वित्तिकै प्रकाशित गर्छौँ । त्यसपछि ती जिल्लामा निर्वाचन अधिकृतहरु परिचालन भएर समय रहेको अवस्थामा ५ असोजमै अधिवेशन हुन्छ,’ उनले भने ।
क्रियाशील सदस्यताको विषयलाई लिएर रौतहटसहित जिल्लाका नेता कार्यकर्ताले अहिले पनि केन्द्रीय कार्यालयमा धर्ना र अनसन जारी राखेका छन् । नेताहरुले सदस्यताको विषयलाई त्यहीकारण पटक पटक महाधिवेशन प्रभावित भइसक्दा पनि टुंगो लगाउन सकेका छैनन् ।
क्रियाशील सदस्यकै टुंगो लगाउन नसकेपछि कांग्रेसले १८ भदौका लागि तोकेको वडा अधिवेशन समयमा गर्न नसकेर ५ असोजका लागि वडा अधिवेशनकै अर्को मिति तोकेको हो । त्यसपछि ९ असोजमा पालिका तहको अधिवेशन गर्ने कार्यतालिका छ ।
अधिवेशन भइसकेका ५७ जिल्ला
प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, झापा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र सुनसरीमा अधिवेशन भइसकेको छ । प्रदेश २ का कुनै पनि जिल्ला अधिवेशन भएको छैन ।
त्यस्तै, वाग्मती प्रदेशका चितवन, मकवानपुर, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुलीमा पनि अधिवेशन भइसकेको छ । त्यस्तै, गण्डकी प्रदेशका नवलपरासी पूर्व, बागलुङ, गोरखा, लमजुङ, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङ्जा र कास्की तथा लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, गुल्मी, प्युठान, दाङ र पाल्पामा पनि वडा अधिवेशन भइसकेको छ ।
त्यस्तै, कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला, कालीकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा तथा सुदूरपश्चिम प्रदेशका बझाङ, अछाम, डोटी, कञ्चनपुर, बैतडी र दार्चुलामा अधिवेशन भइसकेको छ । डडेलधुरामा भएको वडा अधिवेशनको विषयमा नेताहरुबीच विवाद छ ।
क्रियाशील सदस्यको सूची सार्वजनिक भएर निर्वाचन अधिकृत परिचालित जिल्ला
काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दिया
क्रियाशील सदस्यता सार्वजनिक नभएका १३ जिल्ला
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलाली















प्रतिक्रिया दिनुहोस्