पेरुसँग अर्जेन्टिना गोलरहित बराबरीमा रोकियो

एजेन्सी – दुई पटकको विश्वविजेता अर्जेन्टिनाको रसिया विश्वकप यात्रा थप कठिन बन्दै गएको छ । दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा थप जटिल बन्दै गएको हो । यसअघि अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन ।

पेरुसँगको बराबरीको नतिजा सँगै अर्जेन्टिना एक खेल बाँकी रहँदा अर्जेन्टिना प्लेअफ भन्दा पनि तल अर्थात छैटौं स्थानमा झरेपछि विश्वकप यात्रा थप जटिल बन्दै गएको हो । अर्जेन्टिनाको १७ खेलबाट २५ अंक छ । छनोट चरण पेरुविरुद्धको खेलमा जित हात पारेको भए अर्जेन्टिनाले एक खेल बाँकी रहँदा कम्तीमा प्ले अफको खेल स्थान सुरक्षित गर्ने थियो । दक्षिण अमेरिकी क्षेत्रबाट चार राष्ट्रले सोझै छनोट हुने प्रावधान छ भने एक राष्ट्रले प्ले अफ खेल्न पाउने व्यवस्था छ ।

छनोट चरण अन्र्तगत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले खेलभर पेरुमाथि दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । भेनेजुएलाविरुद्धको खेलमा रहेका पाँच खेलाडीलाई परिवर्तन गरेपनि अर्जेन्टिनाले पेरुलाई हराउन सकेन । अर्जेन्टिनाले पहिलो हाफमै गोल गर्ने तीन सुन्दर अवसर खेर फालेको थियो । कप्तान लियोनेल मेस्सीले १३ औं मिनेटमा गोलको सुन्दर मौका खेर फालेको थियो । २४ औं मिनेटमा एन्जल डि मारियाले अर्को सुन्दर मौका खेर फाल्दा अग्रता लिनबाट चुकेको थियो । ३९ औं मिनेटमा पेरुका तीन डिफेन्डरलाई छलाउदै मेस्सीले करिव २५ यार्ड टाढाको प्रहार पोष्टबाट थोरै बाहिरिएको थियो । दोस्रो हाफको शुरुमै मेस्सीको प्रहार पोष्टमका लाग्दै बाहिरियो । ५७ औं मिनेटमा एलेजान्द्रो गोमेजले अर्को गोलको मौका खेर फाल्यो । एकपछि अर्को लगातार पोष्ट आक्रमण गरेको अर्जेन्टिनाका लागि ६१ औं मिनेटमा रिगोनीले अर्को मौका खेर फाल्दा अर्जेन्टिनी समर्थक चुकचुकाउनु परेको थियो । ७५ औं मिनेटमा मेस्सीको पासलाई गोमेजले सदुपयोग गर्न सकेनन् । इन्जुरी समयमा पाउलो गुरेरोले अर्को सुन्दर मौकालाई खेर फाल्दा अर्जेन्टिना पेरुसँग गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । पेरुले पनि समय समयमा अर्जेन्टिनाको पोष्टमा आक्रमण बुुनेपनि गोल गर्न सकेनन् ।

अर्जेन्टिनाले विश्वकपमा स्थान बनाउन अन्तिम खेल कुर्नुपर्ने छ । अर्जेन्टिनाले ११ अक्टोबरमा इक्वेडरको घरेलु मैदानमा खेल्नेछ । उक्त खेलमा जित हात पारे अर्जेन्टिनाले कम्तीमा पनि प्ले अफमा स्थान बनाउने छ । यता अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको पेरुले सन् १९८२ पछि विश्वकप खेल्ने आधार बनाएको छ । पेरु दक्षिण अमेरिकी छनोटमा पाचै स्थानमा उक्लेको छ । पेरुको १७ खेलबाट २५ अंक छ भने समान २५ अंक नै रहेको अर्जेन्टिना गोल अन्तरमा छैटौ स्थानमा झरेको छ । पेरुले घरेलु मैदानमा कोलम्बियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्