अष्टलक्ष्मी शाक्यले भनिन् – माधव नेपालको बाटो सही छैन, एमालेमै फर्किनुस्

काठमाडौं , भदौ ३१ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्।

नेकपा एमालेले बिहीबार गरेको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधनका क्रममा नेता नेपालले नयाँ पार्टी खोलेर जनमत सिर्जना गर्न नसक्ने पनि उनले बताइन्। योसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् ।

सम्बोधन गर्दै शाक्यले भनिन्, ‘मेरो प्रष्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यकता छ’, शाक्यले थपिन्, ‘माधव नेपाल हामीले मानेको नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नु भएको छ यो ठिक होइन, फेरि समीक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भूमिका एमालेमा अझै आवश्यक छ ।’

शाक्यले एमालेसँग फुट र जुट दुवैको इतिहास रहेको पनि बताइन्। उनले अदालतले एमाले फर्काइदिएपछि आफूहरु लामो समय पार्टीबाहिर बसेर फर्किएको पनि बताइन्। शाक्यले सबै कुरा छाडेर अब कम्युनिष्ट पार्टी बलियो बनाउनुपर्नेमा जोड दिइन्।

शाक्यले कम्युनिष्ट आन्दोलन अघि बढेको हेर्न नचाहनेले अनेकौँ खेल गरेको पनि बताइन्। शाक्यले अब एमालेजन रुपान्तरित नभए सक्किने चेतावनी पनि दिइन्।

प्रतिक्रिया दिनुहोस्