संखुवासभामा ६ जनाको हत्यामा नयाँ मोड, आरोपित लोकबहादुरका भाइ पनि पक्राउ
काठमाडौं, भदौ ३१ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्यामा नयाँ मोड देखिएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ ।
लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । ‘नरेशलाई सोधपुछ गर्दैछौं’ डिएसपी सुवेदीले भने, ‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’ ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।’
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । हत्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।
तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । ‘लोकबहादुरले हत्या गर्दै गए, नरेश पछि–पछि थियो’, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘अन्तिममा ८४ वर्षीया पार्वती कार्कीलाई हत्या गरेर लोकबहादुर फर्केपछि पछिपछि लुक्दै गएका नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस्