सुरु भयो दसैंका लागि हवाई टिकट बुकिङ

काठमाडौं, भदौ ३० । दसैं आउन अब केही दिन बाँकी रहेको छ । दशैंं नजिकिदै जाँदा दसैंका लागि हवाई टिकट बुकिङ पनि सुरु भएको छ। दसैं आउन केही दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन्।

दसैंकै लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ।दसैंका लागि तुम्लिङटारको लगभग ९० प्रतिशत टिकट बुकिङ भइसकेको सूचना अधिकारी दिपेन्द्र  कर्णले बताए।

अरु गन्तव्यको टिकट पनि बुकिङ भइरहेको उनले बताए । तुम्लिङटारमा उडान संख्या कम, माग बढी भएका कारण अभाव हुने देखिएको उनको भनाइ छ ।

बुद्ध एयरले तुम्लिङटारमा दुई वटा जहाजमार्फत सेवा दिँदै आएको छ। ४२ र १८ सिट क्षमताका जहाजले यात्रुको माग नधानेपछि अर्को ७२ सिट क्षमताको जहाज थप्ने तयारी गरिएको पनि उनले बताए।

यता श्री एयरलाइन्सले भद्रपुर भैरहवा, विराटनगर, धनगढी, राजविराज जनकपुर, पोखरा लगायत स्थानमा उडान भर्दै आएको छ।

वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले दसैंका लागि भनेर छुट्टै बुकिङ नखुले पनि धमाधम हवाई टिकट बुकिङ भइरहेको बताए। ‘दसैंका लागि छुट्टै बुकिङ खुल्ला हुँदैन। तर, आवश्यक पर्नेले टिकट बुकिङ गर्न सक्नुहुन्छ’ उनले भने।

दसैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने उनले बताए। सोहीअनुसार वायुसेवा कम्पनीहरुले तयारी गरिरहेका छन्।

सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरअनुसार यात्रुलाई गन्तव्यमा लगिने संघले जनाएको छ। चाडपर्वको समयमा यात्रु एकतर्फीमात्र हुने हुँदा केही तलमाथि पर्न सक्ने वायुसेवा कम्पनीहरुले बताएका छन्।

कोभिड महामारी नहुँदा दसैं आउनुअघि हवाई टिकट बुकिङ सकिने गरेको थियो। त्यसले खासगरी लामो दूरी तथा दूर्गम गन्तव्यमा पुग्ने यात्रुहरुले सास्ती झेल्दै आएका थिए। हाल आन्तरिकतर्फ हेलिकप्टरसहित २० भन्दा बढी वायुसेवा कम्पनीहरुले उडान भर्दै आएका छन्।

पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै भने नहुने भएको छ । बुद्ध एयरले दैनिक एकतर्फी ७० उडान भर्दै आएको छ।

बुद्ध एयरले काठमाडौं र पोखराबाट देशका विभिन्न गन्तव्य भरतपुर, भैरहवा, नेपालगन्ज, सिमरा, तुम्लिङटार, जनकपुर, विराटनगर लगायत स्थानमा उडान भर्दै आएको छ।

टिकट बुकिङ असोजको पहिलो सातादेखि

यसैबीच यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । तर, अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्