देशभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता
काठमाडौं, भदौं ३०। धानमा टप ड्रेसिङ गर्ने बेलामा मुलुकभर रासायनिक मलको अभाव भएको छ । घण्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् ।
धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन् । समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन । राष्ट्रिय कृषक समूह महासंघका पूर्व अध्यक्ष अद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो ।
धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ, पूर्व अध्यक्ष अधिकारीले भने, ‘किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन् ।’ सम्बन्धित निकाय जवाफदेही नहुँदा बर्सेनी धान रोप्ने र गोड्ने बेला मल अभाव हुने गरेको अधिकारी बताउँछन् ।
मल आपूर्तिको जिम्मेवारी पाएका निकायमा दायित्वबोध भएन, उनले भने, सधैं नीतिगत समस्या देखाएर पन्छिने पन्छाउने काम भएको छ । सम्बन्धित निकायले जिम्मेवारी नलिएसम्म समस्या दोहोरिरहन्छ । सरकारले जेठ १५ मा मल किन्न बजेटको सुनिश्चितता गर्दा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको असक्षमता भएको अधिकारीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्