बोलिभियासँग ब्राजिल बराबरीमा रोकियो

एजेन्सी । सन् २०१८ मा हुने रसिया विश्वकपको लागि स्थान ब्राजिल बोलिभियासँग बराबरीमा रोकिएको छ । बेलिभियाको घरेलु मैदान स्टेडियो हर्नान्डो साइल्समा भएको खेलमा बोलिभियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो । यो बराबरीले दक्षिण अमेरिकी छनोटको समिकरणमा कुनै परिवर्तन भएन ।

ब्राजिललाई बराबरीमा रोक्न बोलिभियाका गोलरक्षक कार्लोस लाम्पेले उत्कृष्ट प्रदर्शन गरे । खेलभर पुरै समय व्यस्त भएका लाम्पेले ब्राजिलका नेयमार, ग्रावियल जेसस र क्यासमिरोको सम्भावित गोललाई बचाउदै हार टारेका थिए । २५ औं मिनेटमा नेयमारको प्रहार बचाएका लाम्पेले ३३ औं मिनेटमा नेयमारको प्रहार बचाएका थिए । यस्तै खेलको ३८ औं मिनेटमा ग्रावियल जेससको शक्तिशाली प्रहारलाई लाम्पेनै विफल पार्दा ब्राजिलले अग्रता लिन चुक्यो । ४३ औं मिनेटमा नेयमारको प्रहार पनि लाम्पेले बचाए ।

पहिलो हाफमा उत्कृष्ट बचाउ गरेका बोलिभियाका गोलरक्षक लाम्पेले दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदा ब्राजिल बोलिभियासँग गोलरहित बराबरी खेल्न बाध्य बन्यो । ६० औं मिनेटमा जुवान गाब्रियल भालभार्डेले नेयमारको प्रहारलाई गोल लाईनबाट बचाए । ७७ औं मिनेटमा बोलिभियाले पहिलोपटक ब्राजिलको पोष्टमा आक्रमण बुनेको थियो ।

बोलिभियाका डिएगो बिजारानोको सट क्रसबारमा लागेर फर्र्किएको थियो । ८७ औं मिनेटमा जेससको फ्रि हेडर पनि लाम्पेले बचाउदा ब्राजिलका दर्शक निराश बनेको थियो । खेलको अन्तिम समयमा नेयमारले फ्रिकिकलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकियो । अघिल्लो पटक ब्राजिलको घरेलु मैदानमा भेट्दा ब्राजिलले बोलिभियालाई ५–० ले पराजित गरेको थियो । तर, हाइ अल्टिट्युडमा ब्राजिलले गोल गर्न सकेन ।

बराबरीसँगै ब्राजिलले सन् १९८५ यता बोलिभियाको घरेलु मैदानमा जित निकाल्न सकेन । यही मैदानमा बोलिभियाले अर्जेन्टिना र चिली जस्तो बलियो देशलाई पराजित गरेको थियो । ब्राजिलको १७ खेलमा ११ जित, ५ बराबरी र १ पराजय छ भने घरेलु टोली बोलोभियाको १६ खेलमा ४ जित र २ बराबरी छ ।

प्रतिक्रिया दिनुहोस्