अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता, संसद्बाट शीघ्र अनुमोदन गर्न आग्रह
काठमाडौं, भदौ २६ । अर्थमन्त्री जनार्दन शर्मा र मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ।
अर्थमन्त्री शर्मालाई भेट्न एमसीसी उपाध्यसहितको प्रतिनिधिमण्डल शनिबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेको थियो।
भेटका अवसरमा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताए।
उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसद्बाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरिन्। बिहीबार नेपाल आएको एमसीसीको प्रतिनिधिमण्डलले भेटवार्तालाई तीव्रता दिएको छ।
उनीहरूले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा, जसपाका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र तथा ऊर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गरिसकेका छन्।
भेटमा नेताहरुले एमसीसीलाई अगाडि बढाउने सन्दर्भमा मिश्रित धारणा राखेको सार्वजनिक भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले सत्ता पक्षको धारणापछि आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
त्यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन हुने विश्वास दिलाएका थिए। अन्य नेताहरुले भने गठबन्धनबाट साझा धारणा विकास गर्ने बताएका छन्।
फतिमाले भने जे गर्ने हो, त्यसबारे शीघ्र निर्णय गर्नुपर्ने बताउँदै आएकी छिन्। उनले आफू दबाब दिनको लागि नआएको पनि प्रष्ट पारेकी छन्।
प्रतिक्रिया दिनुहोस्