प्रधानमन्त्री देउवाका दुई रणनीति
काठमाडौं, भदौं २६ । प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ ।
एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका हुन् । त्यसका लागि प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूसँग आआफ्नो दलबाट मन्त्री बन्नेहरूको नाम मागेका छन् ।
‘प्रधानमन्त्री पहिले मन्त्रिपरिषद्लाई पूर्णता दिने सोचमा पुग्नुभएको छ, आइतबार या सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि एमसीसीका विषयमा छलफल गर्ने गरी उहाँ अघि बढ्नु भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन आबद्ध दलको बैठकमा सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल भएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
कांग्रेस नेता मीन विश्वकर्माले एमसीसीको विषयलाई दफाबार छलफल गरेर टुंग्याइनुपर्ने बताए । ‘एमसीसीका विषयमा दफाबार छलफल हुनुपर्छ, पोका देखाएर यसमा यो छ भनेर अनुमान गरेर हुँदैन, बृहत् छलफल गरिनुपर्छ, प्रधानमन्त्री पनि मन्त्रिपरिषद् विस्तारपछि एमसीसीमा टुंगोमा पुग्ने गरी अघि बढ्नु भएको छ,’ विश्वकर्माले थपे ।
प्रतिक्रिया दिनुहोस्