प्रचण्डको घोषणा- ‘एमसीसी पास हुँदैन, तपाईंहरु ढुक्क हुनुस्

काठमाडौं, भदौ २२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् ।

मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताएका छन् । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।

वाईसीएलको संयोजक र सह-संयोजक तोकियो

यसैबीच बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । त्यस्तै सह–संयोजक सुबोधराज शेर्पाली बनेका छन् । मंगलबार अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटा र सह–संयोजकमा शेर्पालीलाई जिम्मेवारी दिएको हो । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको छ ।

वाईसीएलले नयाँ नेतृत्व छान्न नसकेपछि आगामी फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यही भदौ १२ देखि १५ सम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेतृत्व चयन नगरी २०४ जना केन्द्रीय सदस्य मात्रै टुंगो लगाएको थियो । केन्द्रीय कमिटीको मंगलबार बसेको पहिलो बैठकले नेतृत्व छान्ने गरी काठमाडौंको भेला सकिएको थियो । तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गर्दा पनि वाईसीएलको नेतृत्व टुंगो लागेको थिएन ।

प्रतिक्रिया दिनुहोस्