संखुवासभा हत्या प्रकरण : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ

काठमाडौं, भदौ २१ । संखुवासभामा एकै परिवारका छ जनाको हत्या भएपछि अनुसन्धानका लागि फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार संघीय प्रहरी इकाइ कार्यालयबाट कुकुरसहितको टोली घटनास्थलतर्फ गएको हो।अहिले घटनास्थलमा मादी प्रहरीचौकीको टोली पुगेको छ।

जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। तर यो टोली पुग्न तीन घण्टा बढी लाग्ने डीएसपी लालध्वज सुवेदीले बताए।

६ जनाको शव फेला परेको खबर आए पनि कसले र किन गर्यो भन्ने खुलेको छैन। स्थानीयका अनुसार घटनाको प्रकृति हेर्दा परिवारका सदस्यलाई बाहिर निकालेर लखेटी(लखेटी हत्या भएको प्रारम्भिक अनुमान छ। धारिलो हतियार प्रहार गरेर हत्या गरेको जानकारी आएको डीएसपी सुवेदीले बताए।

मादी नगरपालिका १ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्कीका परिवारका छ जनाकै हत्या भएको हो। एकजना शकुशल रहेको र उनी शारिरिक अशक्त रहेको बताइएको छ।

८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्