१३ सांसदले छाडे एमाले, सुदूरपश्चिममा बन्यो नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल

काठमाडौं, भदौ २० । सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिममा आज थप ३ जना प्रदेश सांसदले एमाले छाडेका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र पूर्व प्रमुख सचेतक तारा लामा तामाङले आइतबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । यससँगै अब एमाले छाडेर (एस) मा जानेको संख्या १३ जना पुगेको छ ।

पाँच दिनअघि १० जना सांसदले सनाखत गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा अब एमालेभन्दा धेरै सांसद (एस) मा पुगेका छन् । एमालेमा कूल २४ जना (सभामुख बाहेक) सांसद रहेकोमा १३ सांसदले नेकपा (एस) रोजेपछि एमालेमा रहने सांसदको संख्या ११ जना मात्रै भएको छ । सभामुख तटस्थ भूमिकामा रहन्छन् ।

यसअघि मन्त्री पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले सनाखत गरेका थिए । निर्वाचन कार्यालयले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ ।

सुदूरपश्चिममा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । उता कांग्रेसका १२ सांसद छन् । त्यस्तै जनता समाजवादी नेपालका दुईजना सांसद रहेका छन् । अछाम क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित झपट बोहरा एमालेतिर लागेपछि माओवादीका १३ मात्रै सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्