काँग्रेस सभापतिको दाबेदारकै जिल्लामा अधिवेशन अनिश्चित

काठमाडौँ , २० भदौ । नेपाली काँग्रेसको निर्वाचन समिति २१ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्तिको पर्खाइमा छ । तर कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले २१ जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । त्यसको जिम्मेवारी पाएका सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सैद्धान्तिक सहमति भएको भन्दै पन्छिएपछि २१ जिल्लामा वडा अधिवेशनको अन्योलता कायमै छ ।

समितिका तीन जना नेता तीनतिर लागेपछि सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरासहित २१ जिल्लामा अधिवेशन अनिश्चित बनेको हो । सिटौला, रिजाल र लेखकले कामबाट दुई दिनको बिदा लिएपछि नामावली प्रकाशनमा थप ढिलाई भएको देखिन्छ ।

रिजाल र लेखकले गृह जिल्ला जाने भन्दै २ दिनको विदा लिएका थिए । तर उनीहरु काठमाडौं फर्किए पनि सिटौला भोलि गृहजिल्ला झापा जाने तयारीमा छन् । शनिबार डडेल्धुरा र कपिलवस्तुको क्रियाशील सदस्यको नामावली प्रकाशन हुने भनिएको थियो । तर निर्वाचन समितिले अहिलेसम्म सदस्यको सूची प्राप्त गर्न सकेको छैन ।

पार्टी सभापतिमा आकांक्षी देखाएका अन्य नेताहरुको गृह जिल्लामै अधिवेशन अनिश्चित छ । काँग्रेसले प्रदेश १ को मोरङको क्रियाशील सूची सार्वजनिक गरेको छैन । मोरङ सभापतिका दाबेदार शेखर कोइराला र सुजाता कोइरालाको गृहजिल्ला हो ।

यसैगरी प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको सूची पनि सार्वजनिक गरेको छैन । उपसभापति तथा सभापतिका आकांक्षी विमलेन्द्र निधिको गृह प्रदेशमै वडा अधिवेशन अझै अनिश्चित छ ।

बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवाको क्रियाशील सूची सार्वजनिक भएको छैन । सभापतिका दाबेदार प्रकाशमान सिंहको गृहजिल्ला काठमाडौंमा पनि वडा अधिवेशन कहिले हुने टुंगो छैन ।

लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दियाको तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला समेत रहेका कर्णालीको राजधानी सुर्खेतको पनि सदस्यता सूची पनि सार्वजनिक गरेको छैन ।

सुदूरपश्चिमका कैलाली, बाजुरा र डडेलधुराको क्रियाशील सूची नआउँदा वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका राजधानी कैलालीमा पनि सदस्यता नामावली प्रकाशन नै भएको छैन । उक्त जिल्लामा नामावली प्रकाशन नहुँदा निर्वाचन समितिले निर्वाचन अधिकृत खटाउन सकेको छैन । कहिले निर्वाचन अधिकृत खटाएर निर्वाचन सामग्री पठाउने भन्ने टुंगो छैन ।

निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले भने सदस्यको सूची प्राप्त गरेको दोस्रो दिन नै निर्वाचन अधिकृत पठाउन सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्