सवारी लाइसेन्सको ट्रायल परीक्षा आइतबारबाट , यस्ता छन् मापदण्डका बुँदाहरु

काठमाडौं, भदौ १८ । सवारी लाइसेन्सको ट्रायल परीक्षा आइतबारबाट हुने भएको छ ।   सवारी लाइसेन्सको लिखित परीक्षा पास गरेका र एक पटक ट्रायलमा फेल भएकाहरुलाई यातायात व्यवस्था कार्यालयले भदौ २० गतेदेखि ट्रायल परीक्षा लिने भएको हो ।

कोरोनाका कारण गत वैशाख १६ गतेबाट रोकिएको परीक्षा सञ्चालन गर्न लागिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।

कोभिड(१९ संक्रमणको विशेष अवस्थामा यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७८ स्वीकृत गरिसकेको छ।

यस्ता छन् मापदण्डका बुँदाहरु

  • परीक्षार्थी स्वयंले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पिउने पानीको व्यवस्था गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने।
  • प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड-१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने।
  • तोकिएको समयमा ट्रायलमा उपस्थित नभएमा अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामासमेत सहभागी नगराउने।
  • परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी सहभागी गराउने।
  • ट्रायल परीक्षामा सवारीसाधन यातायात व्यवस्था कार्यालयहरुले तोकेबमोजिम हुने, व्यक्तिगत रुपमा ल्याउन नपाइने।
प्रतिक्रिया दिनुहोस्