अनधिकृत रूपमा नेपाली आकाशमा भारतीय हेलिकप्टर, उडानको विरोधमा काठमाडौंमा मोदीको पुत्ला दहनसँगै प्रदर्शन
काठमाडौँ , भदौ १८ । नेपालको हवाई क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गरेको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटका विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनसमेत गरेका छन् ।
भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथि समेत अनधिकृत रूपमा निरन्तर हेलिकप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ । साथै नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराएको छ । सो विषयको समाचार प्रकाशित भएपछि विभिन्न राजनीतिक दलहरुका नेताहरुले सरकारसँग औपचारिक धारणा पनि माग गरेका छन् ।
नेपालले आपत्ति जनाएपनि भारतले अनधिकृत उडान रोकेको छैन र नेपाल सरकारले पनि कुनै प्रतिक्रिया जनाएको छैन । यता महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो ।
साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।भारतले यस्तो दादागिरी देखाउदा पनि नेपाल सरकार भने मौन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्