कांग्रेसको ५६ जिल्लामा अधिवेशनको प्रक्रिया सुरु, २१ जिल्लाका सदस्यको अझै छैन टुंगो
काठमाडौं , भदौ १८ । आजबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ । ५६ जिल्लामा अधिवेशनको प्रक्रिया प्रारम्भ हुँदा २१ जिल्लामा भने सदस्यकै टुंगो लागेको छैन ।
केन्द्रीय सदस्यता छानबिन समिति क्रियाशील सदस्यको विवाद टुंग्याउन असफल भएपछि गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन गरिएको थियो ।
उक्त समितिले विवाद समाधान गरेको भनेर प्रतिवेदन बुझाए पनि प्रतिवेदनमा पहिले क्रियाशील सदस्यता छानबिन समितिमा बसेकाहरूलाई राखेर सहमति कार्यान्वयन कार्यदल बनाइएको थियो ।
तर, त्यो समितिले गरेका निर्णय कार्यान्वयनमा समेत कार्यदलमै मतभेद भएपछि अहिलेसम्म २१ जिल्लाका क्रियाशील सदस्यको विवाद टुंगिनेमै अन्योल छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन बनेको कार्यदलका सदस्यसमेत क्रियाशील सदस्यता कहिले टुंगिन्छ भन्नेमा ढुक्क छैनन् ।
उता बाराका नेता–कार्यकर्ता पुनः आन्दोलित भएका छन् । सोही कारण विवाद विवाद समाधान हुन सकेको छैन ।यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशको विवाद टुंग्याउने कार्यदलका सदस्य योगेन्द्र चौधरीले पनि अझै धेरै जिल्लाको विवाद बाँकी रहेको बताएका छन् ।
यसैबीच मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।
१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।
१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ ।
देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्