जनताका पक्षमा काम नगर्ने हो भने पार्टी विघटन गरे हुन्छ : प्रचण्ड

काठमाडौं, १८ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले जनताको पक्षमा काम नगर्ने पार्टीको अब अर्थ नभएको बताएका छन् ।

आज माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै प्रचण्डले जनताको लागि काम नगर्ने हो भने पार्टी विघटन गरे हुने बताएका हुन् ।

वर्गीय पक्षधरता र क्रान्तिकारी संस्कृति भएन भने र उत्पीडित जनताको पक्षमा काम गरिएन भने पार्टीको काम नहुने उनको भनाई छ । नेता–कार्यकर्ताहरु जनतामा फर्किनु पर्ने बताउँदै उनले यस्तो गरेमा मात्र पार्टी बन्ने र समाजवादको बाटो कोरिने उनले बताए । प्रशिक्षण भेलामा जिल्ला अध्यक्षहरुले रिपोर्टिङ गरेका छन् ।

केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयनकै सिलसिलामा यी बैठकहरु भइरहेका हुन् । यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ ।

अध्यक्ष प्रचण्डले यसअघि पनि जनसरोकारका मुद्दालाई पार्टीले नसमाउने हो भने पार्टी विघटन गरेर किताव लेख्दै बस्दा हुने बताएका थिए । आज पनि फेरि प्रचण्डले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्