कास्कीमा जोरबिजोर प्रणाली हट्यो , २५ जना सहभागी भएर सभा गोष्ठी गर्न पाइने
काठमाडौँ , १८ भदौ । कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ ।
यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि निषेधाज्ञा हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मका लागि लम्ब्याएको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा जोरबिजोर प्रणाली हटे पनि स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र तोकिएको मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै कार्यक्रम, गोष्ठी तथा सेमिनारको हकमा पनि प्रशासन केही लचिलो बनेको छ । नगरी नहुने सरकारी, तथा निजी, गैर सरकारी संस्थाहरुले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरु प्रशासनलाई जानकारी गराएर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्नेछन् ।
तर, सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रंगशाला, फुटपाथ पसल भने खोल्न नपाइने यसअघिको नियमलाई निरन्तरता दिइएको छ ।
कास्कीमा बिहीबारसम्म कोरोनाका १ हजार ३६३ जना सक्रिय संक्रमित छन् भने ५ सय ६१ जनाले ज्यानले गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामामात्रै कास्कीका ९३ सहित गण्डकीका १८२ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्