प्रचण्डले भेटे प्रधानमन्त्री देउवा र नेपाललाई , मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं, भदौ १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।बिहीबार बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ।

केही दिनअघि बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको थियो। यसैबीच प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो । करिब २० मिनेट जति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेको छैन । निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

हाल एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्